
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबार दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ।

तीन खेल खेलेको चितवन र चार खेल खेलेको काठमाडौं दुवैसँग समान ४–४ अंक छन्। तालिकामा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा रहेकाले आजको खेल दुवैका लागि ‘जित्नैपर्ने’ अवस्थामा छ। चितवनलाई कुशल मल्लले नेतृत्व गर्दैछन् भने काठमाडौंको कप्तानी करण केसीले सम्हाल्नेछन्।

दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ। चार खेलमध्ये तीन जितेर विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ। तीन खेल खेलेको कर्णाली भने एक जितसहित पाँचौँ स्थानमा छ।

विराटनगर आज जितसँगै शीर्ष स्थान नजिकिने लक्ष्यमा छ भने कर्णालीका लागि अन्तिम चारमा पुग्ने सम्भावना जीवित राख्न खेल जित्नैपर्ने दबाब छ। कर्णालीका कप्तान सोमपाल कार्की र विराटनगरका कप्तान सन्दीप लामिछाने हुन्।
































