
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

यो जितपछि विराटनगर ७ खेलमा ५ जितसहित १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो। अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने सुनिश्चित भएको छ। ७ खेलमा ५ जित र २ हारको नतिजा रहे पनि नेटर रनरेटका कारण विराटनगरले काठमाडौँलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो।
आजको खेलमा फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ गर्दै आक्रमक सुरुवात दिए। दुबैले क्रमशः ५० र ५१ रन बनाउँदै पावरप्लेमा ८७ रनको साझेदारी गरेका थिए। डु प्लेसीले १९ बलमै अर्धशतक पूरा गर्दै एनपीएलमा दोस्रो छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए। वान डाउनमा ब्याटिङ गरेका मार्टिन गप्टिलले ९ बलमा २२ रन र प्रतिश जिसीले ३ बलमा अविजित १३ रन जोडे।


सुदूरपश्चिमका लागि आरिफ शेख ४५ रनमा अविजित रहे भने इशान पाण्डेले ३८ रन जोडे। बलिङमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३ विकेट लिए भने प्रतिश जिसीले २ र बसिर अहमदले १ विकेट लिए।
विराटनगरको आक्रमक प्रदर्शन र फाफ–हिजलेटको कीर्तिमानी अर्धशतकले निर्णायक जित दिलाएको छ। अब पहिलो क्वालिफायरमा दुई टोलीबीच रोमाञ्चक भिडन्त तय भएको छ।































