थारू समुदायको बरघर–भलमन्सा प्रथालाई कानूनी मान्यता आवश्यक : उपकुलपति डा. जोशी

Image
Nisarga Hospital

थारू समुदायमा परम्परागत रूपमा अभ्यास हुँदै आएको बरघर/भलमन्सा प्रथालाई राज्यले कानूनी रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा थारू समुदायका बरघर तथा भलमन्साहरूका लागि सञ्चालन गरिएको दुई दिने नेतृत्व तथा क्षमता विकास तालिमको उद्घाटन सत्रमा उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले यस्तो धारणा राखेका हुन्।

CP Hospital Dhangadhi

शुक्रबारदेखि कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका सभाकक्षमा सुरु भएको तालिमको उद्घाटन गर्दै डा. जोशीले बरघर/भलमन्सा प्रणाली थारू समुदायको सामाजिक संरचनाको महत्वपूर्ण आधार भएको बताए। उनले परम्परागत अभ्यासलाई आधुनिक शासन प्रणालीसँग जोड्दै कानूनी दायरामा ल्याउन सके समुदायको नेतृत्व अझ सशक्त हुने उल्लेख गरे। यही उद्देश्यका साथ प्रतिष्ठानले नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम आयोजना गरेको उनको भनाइ थियो।

उद्घाटन समारोहमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले बरघर–भलमन्सा प्रथालाई कानूनी मान्यता दिलाउन स्थानीय तहबाट पहल गरिने प्रतिबद्धता व्यक्त गरे। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले समुदाय केन्द्रित तालिम सञ्चालन गरेर प्रशंसनीय काम गरेको भन्दै उनले यस्ता कार्यक्रमले सामाजिक सद्भाव र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

Attariya Hospital

उपकुलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट, तालिमका प्रशिक्षक डा. नाथुराम चौधरीलगायतले मन्तव्य राख्दै बरघर–भलमन्साहरूको भूमिकालाई थप प्रभावकारी बनाउन यस्ता तालिम आवश्यक रहेको धारणा व्यक्त गरे।

nawajiwan

दुई दिनसम्म सञ्चालन हुने तालिममा गोदावरीसहित विभिन्न क्षेत्रबाट आएका ५० भन्दा बढी बरघर/भलमन्साहरूको सहभागिता रहेको छ। तालिममार्फत नेतृत्व, समन्वय, निर्णय क्षमता र सामुदायिक विकाससम्बन्धी ज्ञान अभिवृद्धि हुने अपेक्षा गरिएको छ।