
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकार प्रस्तुत गर्दै आर्थिक प्राथमिकता र खर्च संरचना सार्वजनिक गरेका हुन्।

कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।
सरकारले बजेटको स्रोत राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणबाट जुटाउने भएको छ। राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब जुटाइनेछ।


चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब २५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
सरकारले यो बजेटलाई विकास, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा र आर्थिक स्थायित्वलाई सन्तुलनमा राख्ने लक्ष्यसहित प्रस्तुत गरेको छ। देशको दीर्घकालीन समृद्धि र लगानी विस्तारमा यसले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
































