चुनाव नजिकिँदै जाँदा राजनिती गर्ने मन्त्रीहरूलाई पद छोड्न प्रधानमन्त्री कार्कीको स्पष्ट निर्देशन

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न चाहने मन्त्रीहरूलाई तत्काल मार्गप्रशस्त गर्न निर्देशन दिएकी छन्। निर्वाचन नजिकिँदै जाँदा सरकारभित्रै बसेर केही मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय भएको भन्दै उनले सोमबारको क्याबिनेट बैठकमा कडा सन्देश दिएकी हुन्।

CP Hospital Dhangadhi

बैठकमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा सरकार प्रवेश गरिएको स्मरण गराउँदै भनिन्, “अहिलेसम्म सरकारमा बसेर राम्रो योगदान भयो। तर अब चुनावी चरणमा प्रवेश हुँदैछ। जो–जो साथीहरू राजनीतिमा जान र चुनाव लड्न चाहनुहुन्छ, उहाँहरूले तत्काल पद छोड्दा उपयुक्त हुन्छ।” मन्त्रीहरूले आफ्नो विवेकअनुसार निर्णय लिनुपर्ने उनको भनाइ थियो।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासजस्ता प्रभावशाली मन्त्रालय सम्हाल्दै आएका छन्। सरकारमा सहभागी भएपछि घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन भई रास्वपासँग एकता भएको छ। दलका गतिविधिमा उनको सक्रियताले आलोचना बढ्दै आएको छ।

nawajiwan
Attariya Hospital

निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा देखिन थालेपछि निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेका छन्। भारतबाट आयातित बिजुलीमा ४३ करोड रुपैयाँ गडबडी प्रकरणपछि घिसिङ थप विवादमा तानिएका छन्।

फागुन २१ मै निर्वाचन गराउने तयारीमा जुटेकी प्रधानमन्त्री कार्कीले विशेष गरी कुलमान घिसिङलाई सरकार छाड्न स्पष्ट आग्रह गरेको मन्त्रिपरिषद् स्रोत बताउँछ। यसले सरकारप्रति अविश्वास नबढ्ने र चुनावी तयारीका लागि समय मिल्ने उनको धारणा छ। घिसिङसँगै सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजनीतिक आकांक्षा देखाइरहेका छन्।