
नेपाली कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बाबजुद विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशन आज दिउँसो १ बजे उद्घाटन हुनेछ। उद्घाटनका लागि खुला चौरमा ५० जना अतिथि अटाउने मञ्च निर्माण गरिएको छ भने छ हजारभन्दा बढी कुर्सी व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिले जनाएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलसम्म ल्याउने तयारी गरिएको छ। विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको जनाइएको छ।

देशभरबाट महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति बढ्दो क्रममा रहेको आयोजकले जनाएको छ। ३ हजार ६ सय प्रतिनिधिका लागि आवास व्यवस्था गरिएको छ भने खाना र नास्ताको प्रबन्ध पनि कार्यक्रमस्थलमै गरिएको छ। प्रतिनिधिले एक हजार रुपैयाँ शुल्क बुझाएपछि सामग्रीसहितको झोला र खानाको कुपन पाउनेछन्।

उता संस्थापन पक्षले १५औँ नियमित महाधिवेशनको मिति तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको दाबी गर्दै आएको छ। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यता भएको स्पष्ट पार्दै सहभागिताको आह्वान गरेका छन्। कांग्रेसभित्रको यो मतभेदले आगामी नेतृत्व र राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो बढाएको छ।































