
नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ। बुधबार काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाहीको निर्णय औपचारिक रूपमा बदर गरेको हो।

कारबाहीपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले विशेष महाधिवेशन सुरु हुनुअघि नै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र सो जानकारी निर्वाचन आयोगलाई गराइसकेको दाबी गरे। पार्टी विधानअनुसार आफूहरू अघि बढिरहेको उल्लेख गर्दै उनले नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरे।

महामन्त्री विश्वप्रकाश शर्माले अब पार्टीलाई अघि बढाउने अधिकार विशेष महाधिवेशनको हलमै रहेको बताए। सहमहामन्त्री फर्मुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णय रोक्ने शक्ति कसैसँग नरहेको स्पष्ट पारे।
































