
निर्वाचन आयोगले माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आयोगको आजको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको अघिल्लो दिनै आचारसंहिता लागु हुने घोषणा गरेको हो।

माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता कार्यक्रम तय गरिएको छ। लागू हुने आचारसंहिता अनुसार उम्मेदवारहरूको प्रचार–प्रसार, राजनीतिक गतिविधि, सरकारी नियुक्ति, तथा सञ्चार माध्यममा प्रकाशित समाचारहरूको अनुगमन हुनेछ।

निर्वाचन आचारसंहिताको कार्यान्वयनसँगै राजनीतिक दल र उम्मेदवारले निष्पक्ष र नियमअनुसार चुनावी गतिविधि सञ्चालन गर्नुपर्ने भएको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुन लागेको छ। आयोगको यो निर्णयले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। चुनाव तयारी र मनोनयन दर्तासँगै उम्मेदवार र दलहरू आचारसंहिताको पालनामा केन्द्रित हुने बताएका छन्।
































