
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु) लाई कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चयन गरेको छ। पार्टीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई औपचारिक रूपमा उम्मेदवार बनाउने निर्णय गरिएको हो।

कांग्रेस संगठन निर्माण र पार्टी राजनीतिमा लामो अनुभव बोकेका शाह यसअघि दुई कार्यकाल नेपाली कांग्रेस कैलालीको सभापति समेत भइसकेका छन्। पार्टीभित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आन्दोलनका विभिन्न चरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कैलाली–५ बाट उम्मेदवार चयनका क्रममा डा. आरजु राणा देउबा, नृपबहादुर वड र डिल्लीराज पन्तसहितका नेताहरूको नाम समेत सिफारिस गरिएको थियो। ती सबै सम्भावित उम्मेदवारमध्ये पार्टीले अन्ततः शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।


शाहको मनोनयन दर्ता भोलि माघ ६ गते हुने कार्यतालिका रहेको छ। सो अवसरमा दिउँसो १२:३० बजे नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन पार्टीले सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई हार्दिक अनुरोध गरेको छ।
उम्मेदवार चयनपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामो राजनीतिक यात्रापछि आफ्नो प्रतीक्षाको घडी समाप्त भएको बताएका छन्। उनले निर्णय प्रक्रियामा संलग्न सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा निरन्तर साथ, सहयोग र सक्रिय समर्थनको अपेक्षा राखेका छन्।
“लामो राजनीतिक यात्रापछि आज मेरो प्रतीक्षाको घडी समाप्त भएको छ,” शाहले उल्लेख गरेका छन्, “यो निर्णयका लागि सम्बन्धित सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। आगामी दिनहरूमा यहाँहरूको साथ, सहयोग र सक्रिय समर्थनको अपेक्षा गर्दछु।”


















