
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको जनाएको छ। यसको असरले सुदूरपश्चिम प्रदेशसँगै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था देखिएको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कर्णाली प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति पनि पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३८ मिनेटमा हुनेछ।
































