
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बादल देखिन थालेका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि अन्य स्थानको मौसम भने सामान्यतया सफा नै रहेको छ।

महाशाखाका अनुसार सोमबार देशभर मौसममा थप परिवर्तन देखिनेछ। सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने अनुमान गरिएको छ। यससँगै तराईका धेरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जनजीवन, विशेषगरी सडक तथा हवाई यातायातमा सामान्य असर पार्न सक्ने देखिएको छ।

त्यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने भए पनि चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
































