
धनुषा क्षेत्र नं. १ को रोकिएको प्रतिनिधिसभा निर्वाचन परिणामबारे निर्णय फागुन २९ गते हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलले सबैभन्दा बढी मत ल्याएपछि पनि उनको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेकाले नतिजा घोषणा रोकिएको थियो। उम्मेदवारी खारेजविरुद्ध कमल सर्वोच्च अदालत पुगेका छन्।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा फागुन २९ गते छलफल गर्ने मिति तोकेको हो। अदालतले उम्मेदवारी खारेज गर्ने निर्णयबारे निर्वाचन आयोगको पक्ष पनि सुन्नुपर्ने भन्दै आयोगलाई फागुन १८ गतेको निर्णयसम्बन्धी सम्पूर्ण फाइलसहित उपस्थित हुन आदेश दिएको छ।

अब सर्वोच्चको आगामी सुनुवाइले धनुषा–१ को अन्तिम नतिजा सार्वजनिक हुने वा नहुने विषयमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।































