
काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेपछि नेपाल प्रहरीले नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक अनुरोध गरेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामार्फत अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेसँगै छ बुँदे सुझाव जारी गरिएको जानकारी दिए। सूचनामा सकेसम्म सवारीसाधनको प्रयोग कम गर्न, समूहमा यात्रा गर्न वा ‘लिफ्ट’ प्रयोग गर्न, वरिपरि फोहर वा आगो नजलाउन र प्रदूषण उच्च भएका बेला बाहिरी गतिविधि घटाउन आग्रह गरिएको छ।

प्रहरीले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई थप सावधानी अपनाउन अनुरोध गरेको छ। बाहिर निस्किँदा मास्क प्रयोग गर्न र स्वास्थ्य समस्या देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि सुझाव दिइएको छ।

मौसम परिवर्तनसँगै उपत्यकासहित सहरी क्षेत्रमा प्रदूषण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले पनि सबैलाई स्वास्थ्यप्रति सजग रहन आग्रह गरेको छ। 🌫️😷
































