
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको असरले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा बदली भएको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। विशेषगरी कोशी प्रदेशसहित हिमाली क्षेत्रका केही स्थान र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

































