
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले शपथ लिने व्यवस्था रहेको छ।


गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट प्राप्त गरेको छ। नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन्।
शपथ ग्रहणसँगै संघीय संसद् औपचारिक रूपमा सक्रिय भएको छ भने अब संसदीय गतिविधि, समिति गठन र दलगत बैठकहरू तीव्र हुने अपेक्षा गरिएको छ। सांसदहरूले अब जनप्रतिनिधिको भूमिकामा औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।































