
जेनजी आन्दोलन दमन प्रकरणमा सरकारले उच्चस्तरीय राजनीतिक नेतृत्वमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। सोही क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को निवास गुण्डुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने पूर्व गृहमन्त्री रमेश लेखक लाई पनि नियन्त्रणमा लिने तयारी भइरहेको छ। कटुन्जेस्थित लेखकको निवासमा समेत सुरक्षा निकायको बाक्लो उपस्थिति देखिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनै सुरक्षा निकाय परिचालन गरिएका छन्। नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की जाँचबुझ आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा प्रमुखहरूसँग निरन्तर छलफल गर्दै आवश्यक कानुनी प्रक्रिया टुंग्याएका थिए। प्रारम्भमा प्रहरीले लिखित आदेश माग गरेपछि कानुन मन्त्रालयका सचिवलाई मध्यरातमै प्रहरी मुख्यालय बोलाइएको थियो। त्यसपछि आवश्यक आदेश जारी भएसँगै पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ।

उक्त प्रतिवेदनले जेनजी आन्दोलन दमनका क्रममा गम्भीर लापरबाही भएको ठहर गर्दै ओली, लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान सिफारिस गरेको छ। मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो।































