
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ। निर्वाचन आयोगले मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगित गरेको थियो भने चैत १८ को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नागरिकहरूले अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले सोही विवरण प्रयोग गरी घरबाटै नामावलीमा समावेश हुन सक्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नलिएका व्यक्तिहरूले भने ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो, औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
यसका साथै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका सेवाहरू पनि अनलाइनबाटै उपलब्ध हुनेछन्। नाम, थर, ठेगाना सच्याउने तथा पायक पर्ने मतदानस्थलमा नाम सार्ने सुविधा पनि दिइएको छ।

निर्वाचन आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।































