
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा खेतीमा देखिएको गम्भीर मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्। उनले उत्पादन गर्ने किसान र उपभोक्ताबीचको मूल्यमा आकाश-पातालको अन्तर रहेको भन्दै तत्काल हस्तक्षेप गर्न माग गरेका हुन्।

शाहीले पत्रमा उल्लेख गरेअनुसार, हाल बजारमा उपभोक्ताले एक दर्जन केराको ३५० देखि ४०० रुपैयाँसम्म तिरिरहँदा वास्तविक उत्पादक किसानले भने मात्र ७० देखि ८५ रुपैयाँ पाउने गरेका छन्। “पसिना बगाउने किसानले न्यूनतम लाभ नपाउने र उपभोक्ता मारमा पर्ने यो अवस्था अन्यायपूर्ण छ,” उनले भनेका छन्।

यसको मुख्य कारण बिचौलियाको सेटिङ रहेको शाहीको ठहर छ। सिधै बजार पहुँच नहुँदा किसानहरू बिचौलियामा भर पर्न बाध्य भएको र यसले समग्र कृषि प्रणालीमै संकट निम्त्याएको उनले बताएका छन्। उनले बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्यको ग्यारेन्टी गर्न र बजार प्रणालीमा सुधार ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। समयमै समाधान नखोजिए किसानहरू पलायन हुने र खाद्य सुरक्षामा चुनौती थपिने चेतावनी समेत शाहीले दिएका छन्।






























