
अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर गोली चलेपछि सुरक्षा क्षेत्रमा ठूलो हलचल मच्चिएको छ । गोली चलाउने संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्भिस) को जवाफी कारबाहीमा मारिएका छन् ।

स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे वाशिङ्टन डीसीस्थित १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै उक्त घटना भएको बीबीसीले जनाएको छ । सिक्रेट सर्भिसका अनुसार ती व्यक्तिले अचानक झोलाबाट हतियार निकाल्दै जथाभाबी गोली चलाएका थिए । ड्युटीमा रहेका एजेन्टहरूले तत्काल प्रतिकार गर्दै उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि उनी घटनास्थलमै गोली लागेर गम्भीर घाइते भएका थिए । अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
गोली चल्नेबित्तिकै ह्वाइट हाउस परिसरमा उच्च सतर्कता अपनाइएको थियो । भित्र रहेका पत्रकार र कर्मचारीहरूलाई सुरक्षित रूपमा प्रेस ब्रिफिङ रुममा सारिएको र केही समयका लागि पूर्ण लकडाउन गरिएको थियो । करिब एक घण्टापछि अवस्था सामान्य भएपछि लकडाउन हटाइएको थियो ।


सिक्रेट सर्भिसका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै खतरा नरहेको बताइएको छ । ह्वाइट हाउसको दैनिक कार्य सञ्चालनमा पनि कुनै असर नपरेको जनाइएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार आक्रमणकारीले सुरक्षा एजेन्टहरूलाई लक्षित गरी एक्लै आक्रमण प्रयास गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलमा दर्जनौं राउन्ड गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनापछि ह्वाइट हाउस वरपर सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सिक्रेट सर्भिस र स्थानीय प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेका छन् । आक्रमणकारीको पहिचान र उद्देश्यबारे थप विवरण आउन बाँकी छ ।
































