
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

सिंगापुर ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। कुशल भुर्तेलले २० रन जोडे भने आसिफ शेख १ रनमा आउट भए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै सीमित भयो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए।
नेपालका लागि बलिङमा करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिँदा शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट हात पारे।
नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ। यसअघि सेमिफाइनल पुगेका चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।
































