
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णालीसहित अन्य प्रदेशका हिमाली भूभागमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा आउने परिवर्तनका कारण यात्रा र दैनिक गतिविधिमा सावधानी अपनाउन आग्रह गरिएको छ।































