
प्रत्येक वर्ष असार १५ मा मनाइने राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृति र दही–चिउराको परम्परासँग जोडिएको विशेष पर्व हो। परम्पराअनुसार रोपाइँ सम्पन्न भएको खुसीयालीमा किसानले दही–चिउरा खाएर उत्सव मनाउने चलन रहिआएको छ। रोपाइँको थकान मेटाउने, शरीरलाई शीतलता र ऊर्जा दिने विश्वासका कारण दही–चिउराले नेपाली समाजमा विशेष स्थान बनाएको छ।

पहिले अधिकांश किसानका घरमा गाईभैँसीबाट प्राप्त दही र आफ्नै उत्पादनको चिउरा सहज उपलब्ध हुने भएकाले यही परिकारलाई रोपाइँपछि भोजका रूपमा खाने प्रचलन विकसित भएको मानिन्छ। समयसँगै यो परम्परा कृषि समुदायबाट विस्तार हुँदै सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक पर्व बनेको छ। शुभकार्यमा दहीलाई सगुनका रूपमा प्रयोग गर्ने र स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिने विश्वास आजसम्म कायम छ।

तर यस वर्षको असार १५ भने धेरै किसानका लागि उत्साहभन्दा बढी चिन्ताको दिन बनेको छ। पर्याप्त वर्षा नहुँदा, सिँचाइ सुविधा अभाव र कतिपय क्षेत्रमा रासायनिक मलको समस्या देखिँदा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। सरकारले धान दिवस मनाइरहे पनि खेतमा रोपाइँ अधुरै हुँदा किसानको खुसी फिक्का बनेको छ। कृषि उत्पादन बढाउन समयमै सिँचाइ, मल र अन्य आवश्यक स्रोतको सुनिश्चितता गर्नुपर्ने आवश्यकता यस वर्ष झन् स्पष्ट भएको छ।

































