
गरेका गल्तिको माफी,पाईन्न पुण्यकर्मले ।
सजाई वाणको शैय्या,सुत्नु नै पर्छ भीष्मले।१।

प्रवृत्ति हुन्छ प्राणिको,पूर्णतः जन्मजात नै।
न यो सुध्रिन्छ विद्याले,न कुनै ज्ञान ध्यानले।२।
पूर्णता प्राप्त नै हुन्न, कसैलाई पनि यहॅा।
यौटा वस्तु पुगे फेरी, अर्काको हुन्छ चाहना।३।

आत्मघाती पनि हुन्छ, रूप सौन्दर्य वैभव।
ॲाखा लाग्छ यिनैमा नै,पर्न सक्तछ संकट।४।
जस्तो संरचना हुन्छ, हामी बस्ने समाजको ।
पद्धति पनि त्यस्तो नै, हुनु पर्दछ देशको ।५।
वाणि-माधुर्य नै हाम्रो, यौटै अस्त्र अमोघ हो।
यो नै उपाय हो यौटा,शान्ति सद्भाव मैत्रीको।६

त्यो शिक्षा मात्र शिक्षा हो, जस्मा संस्कार बस्दछ।
अन्यथा ज्ञान ले मात्रै, मान्छे रावण बन्दछ।७।
मनको मनमै राखे, मनको ताप बढ्दछ।
थाहा हुन्न कसैलाई, भत्भती भित्र पोल्दछ।८।
न दया न कुनै माया, न कुनै उपकार छ।
त्यस्तो जीवन पाएर, के नै अर्थ रहन्छ र ?९
जान्नेले पनि जान्दैनन्, नजान्ने पनि जान्दछन्।
यस्तो रहस्यलाई नै,ज्ञानीले ब्रह्म भन्दछन्।१०।
✍️ डा. टेकराज पन्त
































