
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएकै दिन उनले राजीनामा घोषणा गरेका हुन्।

गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो।

यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पद त्याग गरेपछि सरकार अल्पमतमा परेको थियो।

कँडेल २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
































