
महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुकाे एक विशेष पर्व हो । महाशिवरात्रि प्रत्येक बर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । शिवरात्रिमा श्रद्धालुहरु रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास बस्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएर पूजा गरिन्छ । महिलाका लागि शिवरात्रीको विशेष महत्त्व रहेकाे छ । अविवाहित युवतीहरु शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलमय कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रीमा भगवान शंकर ब्रह्माबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नृत्य गर्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कालरात्री भनिन्छ ।
महाशिवरात्रीमा काठमाण्डाैकाे पशुपतिनाथमा ठुलाे मेला लाग्ने गर्दछ । भारतका विभिन्न ठाउँबाट भक्तजनहरु तथा नेपालमा आएका विदेशी पर्यटक र नेपाली भक्तजनहरुकाे पशुपतिनाथमा ठुलाे मेला लाग्ने गर्दछ । पशुपतिनाथ बाहेक नेपालका बिभिन्न शिवालयहरुमा शिवरात्री मेला लाग्ने गर्दछ ।
गाेकुलेश्वर मेला :
दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिका अन्तर्गत वार्ड नं.९ चाैलानी नदीकाे किनारमा अवस्थित गाेकुलेश्वर एक सुन्दर रमणीय ठाउँ हाे । उक्त ठाउँमा नगरपालिका कार्यालय भवनहरु, एयरपाेर्ट, अस्पताल, विद्यालय र क्याम्पस रहेकाे छ । नागवेली आकारकाे नदी किनारमा निर्मित यी भवन र बजारकाे मनाेरम दृश्यले अवलाेकनकर्ता जाे काेहीकाे मन नलाेभिएला भन्न सकिँदैन । नागवेली अाकारमा बगिरहेकाे चाैलानी नदीले दार्चुला र बैतडीकाे सिमाना छुट्याएकाे छ । नदीमा माेटरेवल (पक्की) पुल रहेकाे छ । शिवरात्री मेला भने दार्चुला गाेकुलेश्वरमा लाग्ने गर्दछ । उक्त ठाउँमा मेला भर्न टाढा टाढाबाट हजाराैंकाे संख्यामा मानिसहरु अाउने गर्दछन ।
याे ठाउँमा करिब ७/८ दिन जति मेला लाग्ने गर्दछ । गाेकूलेश्वरकाे परिदृश्य र मेलाकाे बारेमा चित्रण गर्दै गर्दा जाैलजिबी मेलाकाे अवमूल्यन भने गरेकाे छैन है ।
गाेकुलेश्वर मेलामा विभिन्न प्रकारका जडिबुटीहरु यार्सागुम्बा, पाचऔंले, झ्याउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाखनदेव, पदमचाल जस्ता अमुल्य जडिवुटिहरु पाइन्छन् । यि बाहेक दारुहल्दी, तितेपाती, सिम्मे जरा, लोठसल्ला, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफलबोक्रा ओखरबोक्रा, धुपीपात, पाङर, तेजपात र रिठ्ठा आदि जडिवुटी समेत मेलामा किनबेच हुने गर्दछ । यसरी दार्चुलामा पाइने अमूल्य जडिबुटीको ब्यापार मेलाका अतिरिक्त तिब्बत र भारतिय भूमीमा हुने गरेको छ ।
भेडाकाे ऊनबाट निर्मित बनियान (सुइटर), राडी, पाखी, चुटुक, दन (गलैचा), कम्मल, सनपाटबाट निर्मित काेथला र रम्बासबाट निर्मित ज्यडा (भारी बाेक्ने डाेरी), नेती (मही बनाउन मदानीमा बेरिने डाेरी) तथा निगालाेबाट निर्मित माेट्टा, सुप्पा, छाप्राे, डाेका, थाली अादि तथा विभिन्न भाँडाहरु (फाेंला, लाेटा, चर, घाणा, भतेला, कराई, आँसी (हँसिया), काेदालाे) अादि सुलभ र सुपथ मूल्यमा पाइन्छन् । उल्लिखित सामानहरु मार्मा लटिनाथ, सिप्टी, हुती, तिङ्कर, अपिहिमाल, गुल्जर, नाैगाड, ब्याँस, तपाेवन अादि ठाउँहरुबाट ल्याएर मेलामा किनबेच गरिन्छ । स्वास्थ्यकाे दृष्टिकाेणले बहुउपयाेगी जडिबुटी, ऊनी कपडा यस मेलाका प्रमुख आकर्षण हुन । शिवरात्रि मेला प्रत्येक बर्ष गाेकुलेश्वरका अतिरिक्त कैलाली धनगढीकाे शिवपुरी धाम, जाखाेरताल आदि ठाउँहरुमा धूमधाम पूर्वक मनाइन्छ ।
भगवान शिवको उत्पति :-
भगवान शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ । तर पुराणहरुमा भगवान शिवको उत्पत्ति बारेको प्रसङ्गगहरु पाइन्छन् । हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान ब्रह्मा, भगवान विष्णुको नाभि (नाइटो) कमलबाट उत्पत्ति भएका हुन् भने भगवान शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् । श्रीमद् भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारले आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले पछि बलिरहेको एक खम्बाबाट भगवान शिव प्रकट भएका थिए भन्ने मान्यता रहेकाे छ।

विष्णु पुराणमा वर्णन गरिए अनुसार शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ । तर यसमा एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । रुँदै गरेका बालकलाई भगवान ब्रह्माले रुनुको कारण के हाे ? भनेर सोधे । तब त्यो बालकले आफ्नो नाम नभएका कारण रुनुपरेको खुलासा गरे । त्यसपछि भगवान शिवले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम दिए तर पनि शिव भगवान रुन छोडेनन् ।
आजित भएका ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव यी ८ नाम बह्माले राखे । शिव पुराणका अनुसार यो नाम पृथ्वीमा लेखिएको थियो । शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटो (नाभी) बाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए । ब्रह्माले उनलाई चिन्न इन्कार गरे । तब शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए ।
ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद माग्न थाले । जब ब्रह्माले सृष्टिको रचना शुरु गर्न थाले तब उनलाई एक बच्चाको जरुरत पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाए ।


श्री शिवपुरी धार्मिक वन तथा पर्यटकीय क्षेत्रकाे ऐतिहासिक पृष्ठभूमि :
सुदूरपश्चिम प्रदेशकाे कैलाली धनगढी उपमहानगरपालिकाे वडा नम्बर – ४ उत्तरबेहडीकाे उत्तर पश्चिममा रहेकाे एक सुन्दर रमणीय ठाउँमा पवित्र शिव मन्दिर रहेकाे छ । प्रजातन्त्र पुनर्वहाली हुँदाका बखत २०४७ सालतिर देशभरि ठाउँठाउँमा वनजंगल अतिक्रमण भैरहेका थिए । याे ठाउँ त्यतिबेला घना जंगल भएकाले अतिक्रमणकाे पनि सम्भावना थियाे । याे ठाउँमा स्थानीय बासिन्दा श्री लक्ष्मण बिष्टले त्रिशूल गाडी बझाङ नाैलाकाेटका एकजना सन्तबाबालाई राखी पदम राज बिष्ट लगायत केहि व्यक्तिहरू मिलेर शिवकाे पूजाआजा भजन किर्तन गर्न थालियाे । पूर्वमा कैलाली नाला, पश्चिममा शिवपुरी सामुदायिक वन, दक्षिणमा नाला तथा बेहेडी गाउँकाे आवादी र उत्तरमा पनि शिवपुरी सामुदायिक वन रहेकाे छ । यसकाे क्षेत्रफल ८ बिगाह (५.११ हेक्टर) रहेकाे छ । उक्त जमिनमा साल, सिसाैं लगायतका वनस्पतिहरू छन् । वन क्षेत्रमा सुन्दर हरियाली एवम् पशुपंक्षीकाे वासस्थान रहेकाे छ ।
शिवपुरी धाम वा उत्तररामेश्वरम शिवपुरी धाम कैलाली जिल्लाको धनगढी उत्तरबेहडीमा रहेको एक हिन्दु धार्मिक स्थल हो । यहाँ नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग स्थापना गरिएको छ । शिवपुरी धाममा १०८ फिटको शिवलिङ्ग हुनुका साथै यस धाममा १०८ वटा तुलसी मठ, १०८ किलोको घण्ट, १०८ घण्ट र धारा रहेको सुन्दर देवस्थल हो । यस धाममा विभिन्न अवसरहरूमा कुम्भ मेला लाग्ने गर्दछ र नेपाल र भारतबाट हजारौ हिन्दु श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन् । यस धार्मिक स्थलमा विवाह मण्डप (बहुउद्देश्यीय यज्ञशाला), हवनकुण्ड, राम मन्दिर, धर्मशाला, हनुमान मन्दिर, कृष्ण मन्दिर, थनुवा मन्दिर (थारु समुदायकालागि), पुस्तकालय, नवग्रह बाटिका आदि रहेका छन् । अन्य संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा)
दार्चुला
स्राेत :
श्री शिवपुरी धार्मिक वन तथा पर्यटकिय क्षेत्र, गुरु याेजना २०६६





























