धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

Image
Nisarga Hospital

बैतडी : संस्कृतमा आचार्य उत्तीर्ण गरेका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ । जातीय विभेद अन्त्य गर्न गण्डकी प्रदेशको पोखरामा आयोजित धार्मिक अनुष्ठानमा सुदूरपश्चिम प्रदेशबाट आचार्य कृष्ण दमाईं र ज्योतिष पं. गणेशप्रसाद पन्त सहभागी भएका छन् ।

CP Hospital Dhangadhi

विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्की पोखराको आयोजनामा कात्तिक २ र ३ गते पोखरा बैदामस्थित केदारेश्वर महादेव मन्दिर, संस्कृत गुरुकुलसमेत रहेको बोलबम धाममा आयोजित धार्मिक अनुष्ठान तथा महायज्ञमा देशका विभिन्न जिल्लाबाट ब्राह्मण र दलित समुदायका धर्मगुरुको सहभागिता रहेको थियो ।

पोखरामा पहिलो पटक गुरुकुलमा जातीय विभेदरहित तवरले पूजा, हवन, प्रवचन एवं गुरुकुलका बटुकसहित संयुक्त भोजन ग्रहण गरिएको आयोजले जानकारी दिएको छ । धार्मिक अनुष्ठानमा दलित, जनजाति परिवारबाट संस्कृत पढेका गुरुहरूको संयुक्त उपस्थितिमा गुरुकुलका बटुकहरूसँग रुद्राभिषेक, हवन, लाखबत्ती प्रज्वलन एवं दुईदिने प्रवचन कार्यक्रम गरिएको हो ।

nawajiwan
Attariya Hospital

धार्मिक अनुष्ठानमा अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्मण भोजन, शिल्पी समुदायबाट प्रमुख यजमान, वेद पाठ, गायत्री मन्त्र दीक्षा, एकाह श्रीमद्भागवत महापुराण पाठपारायण, चार वेद पाठ, लघुरुद्राभिषेक, नवचण्डी आदि अलौकिक कार्यक्रम गरी चार सयभन्दा बढी दलित समुदायका व्यक्तिलाई समावेश गराएको जनाएको छ । कार्यक्रममा केदारेश्वर धामका प्रमुख डा. लेखनाथ आचार्य (स्वामी विद्वत् चैतन्य) पण्डित दीनबन्धु पोखरेल, पण्डित भीमकान्त पन्थी, पण्डित गणेशप्रसाद पन्त, पण्डित चन्द्रकान्त पौडेल, पण्डित राजानन्द माण्डव्यलगायतले ब्राह्मण समुदायको प्रतिनिधित्व गरेर प्रवचन गरेका हुन ।

त्यसै गरी दलित समुदायको प्रतिनिधित्व गर्दै आचार्य कृष्ण दमाईं, पण्डित लक्ष्मण रसाइली, पण्डित किरण लामगादेलगायत अन्य विभिन्न गुरुहरू एवं विदुषी माताहरूले कथा प्रवचन एवं भजनकीर्तन गरेको आचार्य कृष्ण दमाईंले जानकारी दिए । बोलबम धामका प्रमुख स्वामी विद्वत् चैतन्यले नेपालभरिका धर्मगुरुले यस्तै किसिमका कार्यक्रम गरेर धर्मरक्षाका लागि अगाडि आउनुपर्नेमा जोड दिएको सहभागी बैतडीका ज्योतिष पं. गणेशप्रसाद पन्तले जानकारी दिए । आचार्य कृष्ण दमाईजस्ता संस्कृतमा आचार्य गरेको प्रतिभालाई गुरुकुलमै गुरु बनाएर राख्नुपर्ने धारणा पण्डित चन्द्रकान्त पौडेलले व्यक्त गरे । श्रीहरि विश्वकर्मा र राजेन्द्र भुसालको संयुक्त सङ्कल्पमा कार्यक्रम गरिएको समाजसेवी बेलबहादुर विश्वकर्माले बताए । संस्थाले आगामी दिनमा सबै प्रदेशमा रहेका गुरुकुलहरू एवं धार्मिक मठमन्दिरमा यस किसिमका समावेशी कार्यक्रमको निरन्तरता दिइने विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्कीका अध्यक्ष वास्तुविद् पण्डित लक्ष्मण रसाइलीले बताए ।