

सपना दुई थरी हुन्छन्, सुन्नेले सुनिरहोस्,
एउटाले रातै खान्छ, निद्रा टाढै हुनिरहोस्।
आँखा बन्द गरे पनि, मन जागेरै बस्छ,
भोलिको चाहनाले, छातीभित्र आगो बल्छ।
त्यो सपना पसिनाको, हिम्मतले बुनेको,
हारको छाया चिरेर, उज्यालोतिर गुनेको।




ओछ्यान पनि बाटो बन्छ, सिरानी पनि सोच,
निद्राभन्दा ठूलो लाग्छ, लक्ष्यको मीठो बोझ।
अर्को सपना मीठो छ, तर मीठैमा मार्छ,
बिहानको घाम आए पनि, ओछ्यानै सम्हार्छ।
“आज होइन भोलि” भनी, कानैमा फुसफुस,
समय बग्दै जान्छ, सपना बन्छै बस।
त्यो सपना डरले जन्मेको, बहानाले हुर्केको,
साहसलाई सुताइदिन्छ, आलस्यले घेरेको।
उठ्नै नदिने त्यो सपना, चोर जस्तै हुन्छ,
मान्छेको भोलि खाएर, आजमै रमाउँछ।
त्यसैले रोज् हे मन, कुन सपना तेरो हो?
निद्रा हराउने सपना कि, बिहान चोर्ने त्यो?
जसले उठेर हिँडाउन, आँखा रातो बनाउँछ,
त्यही सपनाले आखिर, मान्छे ठूलो बनाउँछ।
✍️ भावना खत्री, विद्यार्थी
ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढी

































