
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका विभिन्न महत्वपूर्ण निर्णयबारे जानकारी दिनुभयो।

प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। उक्त कार्यक्रम आगामी २०८२ साल माघ १८ गतेदेखि २१ गतेसम्म जापानमा आयोजना हुनेछ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। नेप्सेको संरचनात्मक सुधार र व्यवस्थापन सुदृढीकरणका लागि उक्त प्रतिवेदन महत्वपूर्ण मानिएको छ।


बैठकले अर्को महत्वपूर्ण निर्णयका रूपमा २०८२ साल फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो। यस निर्णयले प्रहरी सेवामा कार्यरत कर्मचारीको सुविधा सुधार हुने अपेक्षा गरिएको छ।
सरकारले यी निर्णयहरू राष्ट्रहित, प्रशासनिक सुधार तथा कर्मचारी कल्याणलाई ध्यानमा राखेर गरिएको जनाएको छ।
































