
शहिद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनबाट मात्रै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन्। नेपाली काँग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’को संरक्षण र कार्यान्वयनमार्फत वीर सहिदहरूले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनको भनाइ छ।

शुभकामना सन्देशमा प्रदेश सभापति बलायरले अधिकार, स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन आहुति दिने ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। सहिदहरूले देखाएको मार्ग र सपना साकार पार्ने दायित्व आजको पुस्ताको काँधमा रहेको उल्लेख गर्दै उनले संविधानको संरक्षण र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए।

बलायरले सहिदहरूले देखाएको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गर्दै सामाजिक न्याय, समानता र सभ्य समाज निर्माण गर्ने सहिदका आकांक्षालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। “सहिदहरूले देखाएको बाटोमा हिँड्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत उनीहरूको सपना पूरा गर्न हामी प्रण गर्दछौं,” सन्देशमा भनिएको छ।

उनले शहिद दिवस २०८२ ले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई थप प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्। संविधानको प्रभावकारी कार्यान्वयन नै सहिदप्रतिको सच्चा सम्मान भएको उल्लेख गर्दै बलायरले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
































