उज्यालो बाँड्ने हातहरूको अकाल अवसान ! पोल्याण्डको भिषा हातमै लिएर अस्ताएका कलम बहादुर धामीको कारुणिक जीवनकथा

Image
Nisarga Hospital

डोटीको दुर्गम भूगोल, खोल्साखोल्सी र पहाडी उकाली–ओरालीबीच अवस्थित बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौर पोखरी। त्यही माटोमा २०५३ साल मंसिर ४ गते हर्क बहादुर धामी र जोगु देवी धामीको काखबाट एक बालकले जन्म लियो—नाम राखियो, कलम बहादुर धामी। परिवार मध्यम अवस्थाको थियो, तर सपना भने असाध्यै ठूलो। गाउँमा अभाव थियो, अवसर कम थिए, तर आशा र आत्मविश्वासले भरिएको त्यो बालकले जीवनलाई संघर्षकै रंगमा चित्रित गर्ने संकल्प बोकेको थियो।

संघर्षबाट उठेको उज्यालो

कलम सानैदेखि मेहनती स्वभावका थिए। गाउँका धेरै युवाझैँ विदेशिने मोह उनलाई पनि थियो, तर त्यसअघि उनले आफ्नै भूमिमा केही गरेर देखाउने चाह राखे। अध्ययनप्रतिको लगावका कारण उनी धनगढी पुगे र ICH इन्स्टिच्युटमा CMA अध्ययन पूरा गरे। सीप सिकेपछि केही वर्ष गाउँपालिकामै करार सेवामा काम गरे। तर गाउँको सीमित पारिश्रमिकले उनको परिवार र सपनालाई धान्न सकेन।

बन्दुक पड्कीएर ज्यान गएको ठाउँ
बन्दुक पड्कीएर ज्यान गएको ठाउँ

त्यसपछि उनले अर्को बाटो रोजे—व्यवसाय। दाजु राम धामी धनगढीमा फेन्सी पसल चलाइरहेका थिए। दाजुकै सल्लाहमा उनले धनगढी बसपार्क नजिकै १५–२० लाख लगानी गरेर होटल सञ्चालन गरे। सुरुमा उत्साह थियो, आशा थियो। तर अपेक्षित आम्दानी हुन सकेन। नेपालमै बसेर केही उपलब्धि नहुने पीडा उनलाई पोल्न थाल्यो।

त्यही बेला उनले विदेश जाने निर्णय गरे। विभिन्न युरोपेली देशका भिषा प्रक्रियामा प्रयास गरे। अन्ततः पोल्याण्डको भिषा लाग्यो। विडम्बना—भिषा आएको खबर सुन्दै गरेको बिहान नै नियतिले उनको जीवनको यात्रा अन्त्य गरिदियो।

गाउँमा उज्यालो बाल्ने सपना

गाउँमा पछिल्लो समय बिजुली विस्तार हुँदै थियो। घरघरमा तार जडान गर्ने, परम्परागत ढुंगामाटोका घरहरूमा पाइपमार्फत तार तान्ने काममा कलम सक्रिय थिए। उनको हातले धेरै घरमा पहिलो पटक झिलिमिली उज्यालो बल्यो।

बन्दुक पड्कीएर ज्यान गएको ठाउँ
बन्दुक पड्कीएर ज्यान गएको ठाउँ

माघ २८ गते, साँझ करिब ५ः२० बजे। वडा नं. १ पोखरीका दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा उनी बिजुली वायरिङ गर्दै थिए। तलबाट बिजुली मिस्री निशान बोहराले तार प्वालमार्फत माथि पठाउँदै थिए। कोठामा दुई नाबालक—९ र १२ वर्षका नातिहरू—मोबाइलको उज्यालोमा बसिरहेका थिए।

एकाएक कोठामा राखिएको भरुवा बन्दुक पड्कियो। आवाजसँगै सबै स्तब्ध भए। गोली सिधै कलमको बाँया कन्चटमा लाग्यो। उज्यालो बाल्न पुगेका हातहरू त्यहीँ घोप्टो परे। त्यो क्षणले एउटा परिवार मात्र होइन, सिंगो गाउँ नै शोकमग्न बनायो।

शोकसँगै थपिएको सास्ती

दुर्गम गाउँमा स्वास्थ्य सुविधा सीमित थियो। पोस्टमार्टमका लागि शव जिल्ला सदरमुकाम शिलगढी ल्याइयो। कागजी प्रक्रिया, ढिलासुस्ती र चिकित्सकीय असमर्थताले परिवारको पीडा अझ गहिरियो। बिहान ११ बजे घटना स्थल पुगेको टोलीले अनुसन्धानपछि शवलाई जिल्ला अस्पताल लग्यो। तर त्यहाँ पनि पोस्टमार्टम तत्काल हुन सकेन।

जिल्ला अस्पताल शिलगढी परिसर

अन्ततः धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरियो। बर्फका डल्ला राखेर, शवलाई बिग्रन नदिन संघर्ष गर्दै परिवार धनगढी पुग्यो। साँझ ढलिसकेको थियो। त्यहाँ पनि तत्काल प्रक्रिया सम्भव नभएपछि भोलिपल्ट पहिलो घण्टामा पोस्टमार्टम गरिने भनियो।

शोकमाथि प्रशासनिक झन्झट थपिँदा पीडित परिवारको हृदय टुक्रिएको थियो। एकातिर अकालमा ज्यान गुमाएको छोराको पीडा, अर्कोतिर प्रक्रियागत सास्ती—यो दोहोरो घाउ सहनु पर्‍यो।

सुखद दाम्पत्य, अधुरा सपना

अध्ययनकै क्रममा कलमको हेमन्ती धामीसँग प्रेम बस्यो। दुई वर्षमै उनीहरूले विवाह गरे। दाम्पत्य जीवन सरल र सुखद थियो। हेमन्ती पनि सोही पालिकामा करार सेवामा CMA पदमा कार्यरत थिइन्।

जीवन संगेनीलाई अन्तिम अंकमाल गर्दै !
जीवन संगेनीलाई अन्तिम अंकमाल गर्दै !

हेमन्तीका आँखामा अब पनि अनेक प्रश्न छन्—विदेश जाने तयारीमा रहेका श्रीमान् किन यसरी गए? पोल्याण्डको भिषा आएको खबरले ल्याएको खुसी किन केही घण्टामै शोकमा बदलियो?

परिवार र जिम्मेवारी

कलम परिवारका लागि आशाको दीप थिए। भाइ पुरन धामी अध्ययनका लागि चीनमा छन्। दाजु राम धामी धनगढीमा व्यवसाय गर्दै आएका थिए। आमाबुवाका लागि उनी सहारा थिए।

हर्क बहादुर र जोगु देवीका लागि यो पीडा असह्य छ। बुढेसकालको आधार, घरको उज्यालो, सबै एकैचोटि निभ्यो। आमाको काख रित्तियो, बुवाको साहारा टुट्यो।

नियतिको कठोर निर्णय

जीवनमा उनले अनेक सपना बुनेका थिए—परिवारलाई सुख दिने, छोरा आदिपलाई राम्रो शिक्षा दिलाउने, विदेशबाट कमाएर तराईमा घर बनाउने। तर नियतिले ३० वर्षमै उनको यात्रा टुंग्यायो।

उज्यालो बाल्ने काममा हिँडेका हातहरू आफैं अन्धकारमा हराए। तर उनले बाँडेको उज्यालो गाउँका घरहरूमा अझै बलिरहेको छ। त्यो उज्यालोले सधैं सम्झाउनेछ—कलम बहादुर धामी केवल एक नाम थिएनन्, उनी संघर्ष, आशा र प्रेमको प्रतीक थिए।

उनको जीवनले सिकाएको छ—मानिसका सपना विशाल हुन्छन्, तर नियतिको लेखाजोखा कसैले बदल्न सक्दैन।

आज सिमचौर पोखरीको हावामा अझै उनको हाँसोको प्रतिध्वनि सुनिन्छ। झिलिमिली बल्ने बत्तीहरूमा उनको मेहनत चम्किन्छ। र परिवारको आँखामा आँसु बनेर उनको स्मृति सधैं बाँचिरहन्छ।

कलम बहादुर धामी शारीरिक रूपमा छैनन्, तर उनले छोडेको उज्यालो, प्रेम र संघर्षको कथा सदैव जिउँदो रहनेछ।

CP Hospital Dhangadhi

 सम्बन्धित समाचार 

Attariya Hospital

डोटीको बोगटानमा बन्दुकको गोली लागी एक युवकको ज्यान गयो

nawajiwan