ओली र रमेश लेखक पक्राउपछि स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाइयो, आज हिरासतमा रहने सम्भावना

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया अघि बढाएको छ। भक्तपुरको गुण्डुस्थित ओली निवास र काठमाडौंको कटुन्जेस्थित लेखक निवासबाट शनिबार बिहान पक्राउ गरी दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको हो।

प्रहरीका अनुसार नियमित प्रक्रियाअन्तर्गत उनीहरूको स्वास्थ्य परीक्षण गरिने भएको छ। परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले स्वास्थ्य परीक्षणलाई सामान्य प्रक्रिया भएको स्पष्ट पारेका छन्।

nawajiwan

स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको प्रतिवेदन आएमा दुवै जनालाई आजै हिरासतमा राखिने सम्भावना रहेको प्रहरीले जनाएको छ। शनिबार सार्वजनिक बिदा भएकाले म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराउन सम्भव नहुने हुँदा उनीहरू आजै हिरासतमा रहने अवस्था देखिएको छ।

Attariya Hospital

हाल दुवै नेता जिल्ला प्रहरी परिसरमै छन् र उनीहरूले कानुनी परामर्श सुरु गरेका छन्।

उनीहरूमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा लापरबाही (हेलचेक्र्याइँ) गरी ज्यान मारेको आरोप लगाइएको छ। मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि गौरीबहादुर कार्की आयोगले उनीहरूमाथि कारबाही सिफारिस गरेको थियो। त्यसपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।