
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, खेलकुद र ऊर्जा क्षेत्रमा विशेष प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पहिलोपटक एमबिबीएससहित चार शैक्षिक कार्यक्रम सञ्चालन गरिने घोषणा गर्दै प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार गरिने बताएका छन्।

पर्यटन क्षेत्रको विकासका लागि रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्रलाई समेटेर विशिष्ट पर्यटकीय विकास कार्यक्रम अघि बढाइने भएको छ। खप्तड–बडिमालिका तथा शुक्लाफाँटा प्रादेशिक पर्यटकीय करिडोरको प्रवर्द्धन, अपि हिमाल ट्रेकिङ रुट विकास तथा दलित बस्तीमा नमूना होमस्टे सञ्चालनको योजना पनि बजेटमा समेटिएको छ।
पूर्वाधारतर्फ महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण विस्तार, दोधारा–चाँदनी सुक्खा बन्दरगाहमा एकीकृत जाँच चौकी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गड्डाचौकीदेखि कोहलपुरसम्म महेन्द्र राजमार्ग स्तरोन्नतिको अध्ययन, दार्चुला–टिङ्कर सडक ट्र्याक खोल्ने कार्य र खुटिया–दिपायल सडक स्तरोन्नतिलाई समेत प्राथमिकता दिइएको छ।


खेलकुदतर्फ धनगढीस्थित निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गरिने घोषणा गरिएको छ। साथै कञ्चनपुरको बेलौरी–टाउन बजार ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने तथा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने भएको छ।
स्थानीय सरोकारवालाले बजेटले सुदूरपश्चिमको विकासलाई गति दिने विश्वास व्यक्त गरेका छन् भने प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
































