
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालसँगको सम्बन्धलाई थप उचाइमा पुर्याउन वर्तमान सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्। रास्वपा सभापति रवि लामिछाने सँगको भेटपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

मोदीले ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत तयार रहेको बताए।

उनले लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको जनाउँदै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उनको चाहनालाई स्वागत गरेको समेत बताएका छन्।

































