
भारतको छत्तीसगढ राज्यको कोरिया जिल्लामा अवैध बालुवा उत्खननसम्बन्धी विवाद हिंसात्मक बन्दा तीन जनाको ज्यान गएको छ। घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ भने पाँच फरार अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानले दुई पक्षबीच वर्षौंदेखि वर्चस्वको विषयमा विवाद रहँदै आएको देखाएको छ। घटना सोनहट प्रहरी चौकी अन्तर्गतको नवगाई क्षेत्रमा भएको हो। विवादका क्रममा भाजपा नेता तथा पूर्व जिल्ला पञ्चायत अध्यक्ष भरत सिंह गहरवार सवार गाडीमा पेट्रोल छर्केर आगो लगाइएको थियो, जसमा उनीसहित तीन जनाको मृत्यु भएको छ।

आक्रमणकारीले गाडीको अगाडि र पछाडि डम्प ट्रक तेर्स्याएर बाटो रोकेका थिए र बाहिर निस्कन नपाउँदै आगो लगाएको प्रहरीले जनाएको छ। पक्राउ परेकामा मनोज त्रिपाठी, अक्षत त्रिपाठी, विशाल त्रिपाठी र सत्यप्रकाश त्रिपाठी रहेका छन्, जो एउटै परिवारका सदस्य हुन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ र अवैध बालुवा उत्खनन नियन्त्रणका लागि थप निगरानी बढाइएको जनाएको छ। स्थानीय क्षेत्रमा तनाव कायमै रहेको छ ।

































