अत्तरियाको सुप समावेशी बिद्यालयलाई २० लाखभन्दा बढीका सहायक सामग्री वितरण

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई करिब २० लाख रुपैयाँ बराबरका सहायक सामग्री वितरण गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

अम होङगिल हुमन फाउन्डेसन (कोरिया) को सहयोग, राष्ट्रिय अपाङ्ग कोष, काठमाडौंको समन्वय तथा गोदावरी नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालयका ८६ जना विद्यार्थीमध्ये आवश्यकता पहिचान गरिएका ३० जना बालबालिकालाई मापदण्डअनुसारका सहायक सामग्री हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम प्रदेशकै एकमात्र आवासीय समावेशी विद्यालयका रूपमा परिचित यस विद्यालयमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अम होङगिल हुमन फाउन्डेसनका कन्ट्री डाइरेक्टर पर्क हि दोङ, कार्यक्रम व्यवस्थापक निलम थापा, राष्ट्रिय अपाङ्ग कोषका भीमा खतिवडा, नगर प्रवक्ता गोपालदत्त भट्ट, शिक्षाविद् डा. डम्बर पाल, वडा नं. २ का सदस्य डबल साउद, महिला नेतृ अनिता ढुङ्गाना, रामजी लम्साल, साजन मानान्धर, लक्ष्मी राना मगर, पत्रकार, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले समावेशी शिक्षा नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै सुप समावेशी आधारभूत विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताए।

उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले हरेक वर्ष आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उल्लेख गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन नगर शिक्षकको समेत व्यवस्था गरिएको जानकारी दिए। आगामी दिनमा पनि विद्यालयको पूर्वाधार, शैक्षिक वातावरण र समावेशी शिक्षाको विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिइने उनको भनाइ थियो।

नगर प्रमुख भट्टले अपाङ्गता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याएको भन्दै अम होङगिल हुमन फाउन्डेसन, राष्ट्रिय अपाङ्ग कोष तथा यस अभियानमा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति आभार व्यक्त गरे। उनले सरकारी निकाय, विकास साझेदार र समुदायको सहकार्यबाट समावेशी शिक्षालाई अझ प्रभावकारी बनाउन सकिने विश्वास समेत व्यक्त गरे।

आयोजकले सहयोगी संस्था तथा समन्वयमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा र दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।