कर्णालीमा झुलुङ्गे पुल बनेपछि पर्यटकको आकर्षण, टीकापुर–राजापुर दूरी पनि छोटियो

Image
Nisarga Hospital

कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथि झुलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। पुलबाट कर्णाली नदी, हरियाली फाँट र प्राकृतिक दृश्य अवलोकन गर्न तथा गर्मी छल्न दैनिक सयौँ आगन्तुक पुग्न थालेका छन्।

CP Hospital Dhangadhi

पर्यटकको आगमन बढेसँगै स्थानीय फोटोग्राफर, साना व्यवसायी र सेवा प्रदायकको आम्दानीमा समेत वृद्धि भएको छ। पुलमा तस्बिर खिच्ने र भिडियो सामग्री बनाउनेको भीड बढेपछि स्थानीयले नयाँ रोजगारी र आम्दानीको अवसर पाएका छन्।

४८२ मिटर लामो यो झुलुङ्गे पुल निर्माण भएपछि टीकापुर–राजापुरबीचको दूरी करिब २४ किलोमिटरबाट १५ किलोमिटरमा झरेको छ। साथै, डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयको भनाइ छ। पुलले दुई जिल्लाबीच आवागमन सहज बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

थानी निर्माण सेवाले करिब १५ करोड ७३ लाख ९५ हजार रुपैयाँको लागतमा एक वर्षभित्र पुल निर्माण सम्पन्न गरेको हो। उद्घाटन केही कारणले स्थगित भए पनि पुल सञ्चालनमा आइसकेको छ र औपचारिक हस्तान्तरणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ।

यसैबीच, टीकापुर–गेरुवा जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल पनि सञ्चालनमा आइसकेको छ। कर्णालीमा बनेका यी दुई पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीचको आवागमन, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिलाई नयाँ गति दिने विश्वास गरिएको छ।