
नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी उच्च अदालत जनकपुरको फैसलापछि पक्राउ परेका छन्। प्रहरीले उनलाई बिहीबार महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै कैद सजायको आदेश दिएपछि उनी पक्राउ परेका हुन्।

कोइरीलाई गौशाला नगरपालिका–निगौलस्थित निवास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अदालतको आदेशअनुसार अब उनीमाथिको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

थमन विक हत्या प्रकरण लामो समयदेखि चर्चामा रहेको मुद्दा हो। उच्च अदालतको पछिल्लो फैसलासँगै यस घटनाले पुनः राजनीतिक र कानुनी क्षेत्रमा चर्चा पाएको छ।






























