
चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्ठामा जंगली हात्तीको आक्रमणमा आमा र चार वर्षीय छोराको ज्यान गएको छ। शनिबार राति करिब ११ बजे चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको पूर्ण बोटेको घरमा हात्तीले आक्रमण गर्दा उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार घटना हुँदा दुवै जना घरभित्र सुतिरहेका थिए। हात्ती धपाउने प्रयासस्वरूप पूर्ण बोटेले आगो बाल्न खोज्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो समयमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरी थप अनुसन्धान सुरु गरेको छ। साथै, बस्तीमा पुनः जंगली हात्ती प्रवेश गर्न नदिन आवश्यक नियन्त्रण तथा सुरक्षा उपाय अपनाउने तयारी भइरहेको जनाइएको छ। निकुञ्ज आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।































