एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण, कक्षा ११ अध्ययनको बाटो खुल्यो

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत असार १ देखि ९ गतेसम्म सञ्चालन गरिएको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यससँगै ८३ हजारभन्दा बढी विद्यार्थी कक्षा ११ मा अध्ययनका लागि योग्य भएका छन्।
बोर्डका अनुसार पूरक परीक्षाका लागि १ लाख ४८ हजार ५ सय ७ जना योग्य रहेकामा १ लाख २९ हजार १ सय ९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् भने अमर्यादित गतिविधिमा संलग्न ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, विभिन्न २० वटा आधिकारिक वेबसाइट, आइभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत नतिजा हेर्न सक्नेछन्। साथै, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी मार्कसिटसमेत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ देखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। बोर्डले नतिजा प्रकाशनलाई विश्वसनीय बनाउन प्रयास गरिएको उल्लेख गर्दै प्राविधिक त्रुटि भेटिए आवश्यक छानबिनपछि सच्याइने जनाएको छ।
त्यस्तै, नाम, उमेर वा ठेगानाजस्ता व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत सच्याउन सकिने व्यवस्था गरिएको छ। पूरक परीक्षामा सफल भएका विद्यार्थी अब यही शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

CP Hospital Dhangadhi
Attariya Hospital