कृष्णपुरको रैकवार मा AI X-Ray सहित निःशुल्क क्षयरोग परीक्षण शिविर, ३ सय ४५ स्थानीय लाभान्वित

Image
Nisarga Hospital

कञ्चनपुर: स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजना तथा कृष्णपुर नगरपालिकाको समन्वय र सहयोगमा AI X-Ray प्रविधिमार्फत क्षयरोग (TB) को प्रारम्भिक निदान सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर कृष्णपुर नगरपालिका–८ स्थित रैकवार स्वास्थ्य चौकी, रैकवार बिचवामा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

शिविरबाट महिला २ सय ५६ र पुरुष ८९ गरी कुल ३ सय ४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। परीक्षणका क्रममा थप पुष्टि आवश्यक देखिएका २३ जनाको खकार (Sputum) नमुना संकलन गरी थप प्रयोगशाला परीक्षणका लागि पठाइएको कृष्णपुर नगरपालिकाका क्षयरोग संयोजक दीपक रावलले जानकारी दिए। संयोजक रावलका अनुसार शिविरको मुख्य उद्देश्य समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको प्रारम्भिक पहिचान गर्नु, उच्च जोखिम समूहमा Active Case Finding (सक्रिय बिरामी खोज) सञ्चालन गर्नु, समयमै रोगको निदान गरी उपचारमा जोड्नु तथा समुदायमा क्षयरोगको संक्रमण दर घटाउनु रहेको हो। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कृष्णपुर नगरपालिकामा हालसम्म १ सय १७ जना क्षयरोगका बिरामी दर्ता भएका छन्।

Attariya Hospital

कृष्णपुर नगरपालिका–८ का वडा अध्यक्ष तथा रैकवार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काले समुदायस्तरमै आधुनिक प्रविधिबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनु स्थानीयका लागि ठूलो अवसर भएको बताए। समयमै परीक्षण र उपचार नै क्षयरोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएकाले कुनै पनि लक्षण देखिएमा लुकाएर नबस्न, स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन र जनचेतना फैलाउन सबैले सहयोग गर्नुपर्ने उनले आग्रह गरे। यस्ता शिविरले नागरिकलाई सहज स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउनुका साथै क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास पनि उनले व्यक्त गरे।

nawajiwan

शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र सिंह रावल, स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका क्षयरोग फोकल पर्सन मनोज प्रसाद ओझा, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वास्थ्यकर्मीहरूले AI X-Ray प्रविधिको प्रयोगले क्षयरोगको प्रारम्भिक पहिचानलाई अझ प्रभावकारी, छिटो र सहज बनाएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। स्थानीय गाउँघरमै स्वास्थ्य सेवा पाउँदा रैकवार विचवाका स्थानीय नागरिकहरु हर्षित देखिएका छन्।