
सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व गौरा धुमधामका साथ मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् सप्तमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै हर्षोल्लासका साथ मनाइँदैछ।


दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वका अवसरमा स्थानीय गौरादेवीका मन्दिरमा विशेष पूजाआजा तथा जात्रा आयोजना गरिन्छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि गौरादेवीको मन्दिर स्थापना गरिएका स्थानमा भेला भएर परम्परागत विधिअनुसार पर्व मनाउने गरेका छन्। रोजगारी तथा अन्य कामका सिलसिलामा भारतलगायत विभिन्न देशमा गएका व्यक्तिहरू पर्व मनाउन घर फर्किएपछि गाउँघरमा थप चहलपहल बढेको छ।
गौरा पर्वको पहिलो दिन भदौ शुक्ल पञ्चमीलाई बिरुडा पञ्चमी भनिन्छ। यस दिन महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुराँस मिसाएर तामाको भाँडामा बिरुडा भिजाउने चलन छ। भोलिपल्ट षष्ठीका दिन बिरुडालाई धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने तथा सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजाआजा गर्ने परम्परा छ। विवाहित महिलाले यस अवसरमा मन्त्रिएको दुवधागो चढाउने चलनसमेत रहेको छ।
अठवालीका दिन व्रत बसेर गौरा खलामा पार्वती र शिवको पूजाआजा गरिन्छ। यस दिनलाई दुर्वाष्टमी पनि भनिन्छ। गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा महिला तथा पुरुषहरू सहभागी भएर विभिन्न भाकामा गीत गाउने र देउडा खेल्ने गर्छन्।
देउडाका माध्यमबाट पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक विषयवस्तु प्रस्तुत गरिन्छ। चैतली, धुमरी, ढुस्कोलगायत भाकामा खेलिने देउडामा समसामयिक राजनीतिक अवस्था, सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्यसमेत गरिन्छ। यसले मनोरञ्जनसँगै सुख–दुःख साटासाट, सामाजिक सद्भाव र आपसी भाइचारालाई समेत बलियो बनाउने गरेको छ।
सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको गौरा पर्व नेपालका विभिन्न क्षेत्रमा मात्र नभई भारतको उत्तराखण्डस्थित कुमाउ र गढवाल क्षेत्रमा पनि आ–आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाउने गरिन्छ।































