
उसले कलम उठायो आफ्नै जीवन बनाउन,
पुस्तौँसम्म पुग्ने छोरा नातिलाई धन बनाउन।
भन्न त बन्दुक उठाउँनेहरू पनि सर्वहार भन्थे,
लुट मार गराएर आफ्नै लागि रनबन बनाउन।
त्यत्तिकै कसले खर्चिन्थ्यो दिमाख अचेलभरी,
जनघाती बम बनाउन आधुनिक गन बनाउन।
सोजा गरिब युवाहरू लाई बन्दुक थमाए पछि,
आफु सत्तामा पुग्ने भर्याङ्ग युवा डन बनाउन।
आतङ्क फैलाए र जनतामा डर पैदा गरेपछि,
लोभ देखाए र मानिस मार्न दह्रो मन बनाउँन।
सोझा जनताले कसरी बुझ्ने चाल नेताहरूको,
देश धितो युवा बली चढाए सिंहासन बनाउन।

॥१॥
कसैले पनि दिंदैन आफु नअघाए सम्म,
आफ्नै भुँडी भर्छन् सबैले अटाए सम्म।
दुध कहाँ दिन्छन् बाबु नानिलाई आमाले,
जबसम्म रोएर बालकले नअत्ताए सम्म।
तिमी भन्छौ राजनीति गर्नै हुदैन हामीहरू,
हक मिल्दैन सडकमा नारा नलगाए सम्म।
कसलाई फुर्षत छ महङ्गाइको जमाना हो,
विकाश हुँदैन यहाँ दलाल न धपाए सम्म।
भ्रष्टाचार कहाँछैन देशको कुनाकुनमा हेरौँ,
जनताको काम हुँदैन दस्तुर नबुझाए सम्म।
हो लुट्नै ढुकेर बस्छन् आफ्ना भनौँदाहरू,
सापट पनि फिर्ता हुँदैन सातो नखाए सम्म।

॥२॥

आफ्नैले घाउ लगातार दिएकै हुन्छन्,
जीवनमा गरूङ्गो भार दिएकै हुन्छन्।
दुश्मन् कहाँ सक्थ्यो जो दिए आफ्नैले,
भुल्नै नसक्ने उपहार दिएकै हुन्छन्।
पाहुँना बनेर कहिले माझि बनेर आए,
जीवन डुबुउँने आधार दिएकै हुन्छन्।
मित्र बनेर मनभित्र पसेका उनै गद्दारले,
दुष्टले घेर्दा भुत्ते औजार दिएकै हुन्छन्।
दुःखको बेला नुन चुक लाउँने साथि ले,
जुवामा हारेपछि उदार दिएकै हुन्छन्।
सहयोग गरिन नभन्नु गर्नुगर्छन साथिले,
कयौँ पटक मनमा दरार दिएकै हुन्छन्।
॥३॥
उसले जीत्न नसकेपछि ऊ मित्र खास भएको,
मलाई थाहा भएन ऊ भित्रभित्रै उदास भएको।
रहस्य त पछि खुल्यो जब उसको व्यबहार देखें,
मित्र बनेर हामि माथि उस्को दुससहास भएको।
मान्छे अचेल मानवता भुल्यो लोभले बिलाप छ,
थाहा पाउँदैन आफु भित्र मानवता नाश भएको।
सुःखको खोजिमा हिँड्छ आफ्नो मन टटोल्दैन,
पत्तै लाग्दैन झनपछि झन दुःखको राश भएको।
खै समय छैन अचेल पैसाको सवालमा जिन्दगी,
भुलिसक्यो मानिस आफै जिउँदो लाश भएको।
मपाईँ छ कदर छैन बा आमाको छोराछोरी भित्र,
अब त आभाश नै हुनछाड्यो आस पास भएको।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























