
भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट प्रतियोगितामा उपाधि जितेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत गरिएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मान गर्दै नेपाली खेल क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका थिए। राष्ट्रपति पौडेलले ढाँटको सफलता सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले देखाएको खेल कौशल, सामर्थ्य र समर्पण प्रशंसायोग्य रहेको बताए।
खेल क्षेत्रमा सरकारी ध्यान आवश्यक
सो अवसरमा राष्ट्रपति पौडेलले सरकारलाई खेलाडीको भविष्य सुनिश्चित गर्न खेल क्षेत्रमा आवश्यक नीति तथा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए।


“देशलाई विश्वमञ्चमा चिनाउने माध्यम खेल हो,” उनले भने, “यदि खेलाडीलाई प्रशिक्षण, प्रतिस्पर्धा र आवश्यक सुविधा प्रदान गर्न सकियो भने उनीहरूले कीर्तिमान तथा सफलता हासिल गर्न सक्छन्।”
उनले खेलको माध्यमबाट शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकास हुने भएकाले यसतर्फ राज्यले विशेष चासो दिनुपर्ने धारणा राखे।
रविन्द्र ढाँटको यस सफलताले नेपाली खेल क्षेत्रको प्रतिष्ठा बढाउनुका साथै आगामी पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ।

















