
अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज पाकिस्तान साहिन्सविरुद्ध मैदान उत्रँदैछ।

डार्विनस्थित मरारा क्रिकेट मैदान–टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ।
सिरिजका सुरुवाती तीन खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा भने लगातार जित निकालेको छ। अन्तिम खेल जित्दै टोलीले सिरिजलाई सुखद् रुपमा टुंग्याउने लक्ष्य राखेको छ।


अहिलेसम्म ५ खेल खेलेको नेपालले २ मा जित र ३ मा हार भोग्दै ४ अंक जोडेको छ। नेपाल तालिकाको सातौँ स्थानमा छ। पाकिस्तान साहिन्सले भने ५ खेलमध्ये ३ मा जित र २ मा हार भोग्दै ६ अंकका साथ दोस्रो स्थानमा छ।
यसअघि नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले र होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो। यस्तै मेलवर्न स्टार्स एकेडेमीविरुद्ध ३१ रन, बंगलादेश ए विरुद्ध ३२ रन र नर्थन टेरिटोरी स्ट्राइक विरुद्ध ४२ रनले पराजित भएको थियो।



















