
टप एण्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा पाकिस्तान शाहिन्सले नेपालसामु १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको हो ।

पाकिस्तानका कप्तान इरफान खानले २६ बलमा ४२ रनसहित उत्कृष्ट योगदान दिए भने अब्दुल समादले २५ बलमा २६ रन जोडे । मोहम्मद वसिमले २२ बलमा २३ रन बनाउँदा ओपनर यासिर खानले १८ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । नन्दन यादवले २ विकेट हात पारे भने दीपेन्द्रसिंह ऐरीले पनि २ विकेट झारे । कुशल भुर्तेलले एक विकेट लिए ।

यसअघि नेपालले पाँच खेलमा दुई जित र तीन हार व्यहोरेको छ । पहिलो तीन खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा क्रमशः होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्स एकाडेमीलाई हराउँदै पुनरागमन गरेको हो ।




















