
चिनियाँ विदेश मन्त्रालयले लिपुलेकसम्बन्धी विषयमा मौनता अपनाएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी चिनफिङबीच भएको भेटमा लिपुलेकको विषय उठे पनि चिनियाँ पक्षले आधिकारिक वक्तव्यमा यसको उल्लेख गरेको छैन।

भारत–चीनबीचको लिपुलेक सम्झौताप्रति प्रधानमन्त्री ओलीले राष्ट्रपति सी समक्ष कडा आपत्ति जनाएका थिए। यो विषयमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आपत्ति सार्वजनिक गरिसकेको छ। तर चीनले सार्वजनिक गरेको प्रेस नोटमा भने नेपालले ‘एक चीन’ नीतिप्रति दृढ प्रतिबद्धता जनाएको मात्र उल्लेख छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालले ताइवान स्वतन्त्रताको विरोध गर्ने, चीनका हित विपरीत कुनै पनि शक्ति प्रयोग हुन नदिने र चीनद्वारा अघि सारिएका विकास, सुरक्षा तथा सभ्यता पहललाई समर्थन गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।

यसैबीच, राष्ट्रपति सीले ओलीसँगको भेटमा दुवै देशबीच रणनीतिक विश्वास र पारस्परिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै बीआरआइअन्तर्गत बन्दरगाह, सडक, पावर ग्रिड, उड्डयन र दूरसञ्चारमार्फत सम्पर्क विस्तार गर्ने धारणा व्यक्त गरेका छन्।






























