
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज नेपाल र बङ्गलादेश आमनेसामने हुँदैछन्। खेल काठमाडौँको दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने तय भएको छ।

मैत्रीपूर्ण खेलका लागि दुवै टोलीले तयारी पूरा गरेको जनाएका छन्। नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले बङ्गलादेश बलियो प्रतिद्वन्द्वी भए पनि उत्साहसाथ मैदानमा उत्रिने बताए।

फिफा इन्टरनेशनल विन्डोअन्तर्गत नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो खेल आज र दोस्रो मंगलबार हुनेछ। यी खेललाई दुवै टोलीले आगामी एएफसी एसियन कप छनोटका तयारीका रूपमा लिएका छन्।

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले अक्टोबरमा भियतनामसँग ‘होम एन्ड अवे’ खेल्नेछ भने मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका रहेको छ।































