
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेन-जीसहित सबै नेपाली नागरिकलाई संयमित हुन अपिल गरेका छन्। उनले प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने भएकाले यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु। अबको मार्गदर्शन संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा हुनु पर्छ।”

घिसिङले जेन-जी आन्दोलनको समयमा अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गरी राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेकोमा जोड दिएका छन्। उनको अपिलले आन्दोलनरत युवाहरूलाई शान्तिपूर्ण र जिम्मेवार मार्ग अपनाउन प्रेरित गर्ने आशा व्यक्त गरिएको छ।































