
जेन-जी पुस्ताको पहिलो दिनमै १९ जनाको गोली लागेर मृत्यु भए पश्चात आन्दोलन थप उग्र बनेर देशैभरी सरकारी तथा सार्वजनिक सम्पती र सयौ व्यक्तिहरूको निजी घरहरूमा समेत आगजनी गरियो। यो देश बन्छ भनेर देशमै बसेकाहरूको मनको धौर्यता भत्कियो । देशैभरी आगो लागाईएको दर्दनाक दृश्य रातभरी आखामा घुमिरह्यो। आन्दोलनको दिन देखि रात्रीकालीन निन्द्रामा केबल भय मात्रै दौडिई रह्यो । यो केबल स्तम्भकारको मात्रै एकल अनुभुती नभई देशप्रति राष्ट्र भाव भएका सबै देशभक्तको साझा अनुभुती हो जस्तो लाग्छ।

जेन-जी पुस्ताको आन्दोलन संयमित, अनुशासित र व्यवस्थित तवरबाट सञ्चालित भई देशमा परिवर्तन ल्याउने मर्यादित अभ्यासको उदाहरण बन्न सक्थ्यो । पुराना दल र नेताको शासनशैली र कार्यशैलीबाट आजित जनताले केहि थप आशाहरू बोक्दै जेन-जेड पुस्तालाई देशैभरी बाट प्रशंसा गरी रहेका हुन्थे । तर दुर्भाग्य जेन-जे पुस्ताका युवा प्रतिनिधीहरूका अनुहार देख्न नपाउँदै यिनको नाममा स्वार्थको रोटी सेक्ने अपराधीको अपराधिक समुहले पुर्खाको दुःखले बनेको देशका सार्वजनिक सम्पत्तिहरूमा आगो झोस्दै खरानी बनाएर आतङ्कित र स्तब्ध तुल्याए । जुन अपराध क्षमायोग्य समेत रहेन।
मैले बुझेको जेन-जेड पुस्ता:

मैले जेन-जेड पुस्ताको बारेमा बुझ्दा यो पुस्ता आफ्नै देश भित्र केहि गरेर खाने, स्वदेशमै आफ्नो स्वर्णिम भविष्य निर्माण हुने सुनिश्चितता सरकारबाट प्रदान होस भन्ने चाहना राख्ने पुस्ताका मानिसहरूको बाहुल्यता भएको पुस्ता हो भन्ने बुझेको थिए । यी पुस्ताका अधिकांश मानिसहरू देशमै आय आम्दानी गर्दै मुलुलको परिवर्तनको लागि योगदान गर्ने हुटहुटीले प्रेरित भई यो देशमा हाम्रो पुस्ता पनि छ है भनेर देशको भविष्यको आशा देखाउने पुस्ता बुझेको थिए । जो आफ्नै देशभित्र मर्यादित र सम्मानित जीवन बाँच्दै आफ्नै जीवन कालमा देशलाई अग्रगामी रूपान्तरण भएको हेर्न चाहने दृढ संकल्प सहितको पुस्ता हो ।
जसले सरकारबाट एक असल अभिभावकत्व ग्रहण गरोस भन्ने चाहना राख्दछन भन्ने बुझे। तर दुर्भाग्य आज तिनै पुस्ताले सरकार बिरूद्द आवाज उठाउदा सरकारले गोली चलाएर युवाहरूको मृत्यु भएको निहुँमा देशैभरीका सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गरी आगो लगाउने, तोडफोड गर्न, व्यक्तिका घर तथा व्यवसायमा आगजनी गर्दै लुटपाट गर्ने र शान्ती सुरक्षाका लागि खटिएको प्रहरी माथी समेत देशैभरी एकसाथ हमला गरेर केहि घण्टामै देशलाई खरानी पार्दै जनजीवनलाई आतङ्कित तुल्याउने कामहरू गरिए ।
जुन कार्यले जेन-जेड पुस्ताका मानिस को हुन ? साच्चै परिवर्तनकारी युवाहरू हुन या अपराधिक भिजिलान्ते ?भन्नेमा द्विविधा भैरह्यो ।
आन्दोलन कस्तो हुनु पर्थ्यो ?
हाम्रा विगतका आन्दोलनहरु विश्वमै सबैभन्दा विशिष्ट राजनीतिक चेतना बोक्ने आन्दोलनहरु थिएँ । हामीले ती आन्दोलनहरुका लागि गरेको त्याग, लगन र आदर्शले आज हामीलाई परिवर्तनको यो स्थानमा पुर्याएको थियो। हाम्रा विगतका बौद्धिक बहसहरुले हामीलाई भविष्यको आन्दोलनप्रतिको धारणा विकासमा मद्दत पुर्याउने भएकोले हाम्रो बौद्दिक बहसहरुका मञ्च अब खुल्ला गरिनु पर्दथ्यो ।
यो आन्दोलन कुनै मुल विषय वा एजेण्डामा केन्द्रित भएर गरिने संघर्ष बन्नुपर्दथ्यो ।जुन संघर्ष भावी परिवर्तनको अपेक्षित आशा सँग जोडिएको हुनु पर्दथ्यो ।
वर्तमानका परास्थितिमा परिवर्तनका लागि गरिने संघर्ष नै आन्दोलन बन्नु पर्ने थियो । आन्दोलनका स्वरुप,तरिका र
माध्यमलाई हिंसात्मक नबनाई ढङ्गबाट आन्दोलनको अन्तिम गन्तव्य सम्म पुर्याउन सकिन्थ्यो। आन्दोलनले परिवर्तनको मार्गचित्र कोर्ने काम गर्दै राजनैतिक,शासकीय ,सामाजिक र आर्थिक विषयमा नवप्रवर्तन सहितको गन्तव्य निर्धारण गर्न सक्ने हुनु पर्दथ्यो । हाम्रो मुलुकका सन्दर्भमा हामीले हाल सम्म प्राप्त गरेका आर्थिक,सामाजिक, राजनैतिक तथा साँस्कृतिक परिवर्तनहरुको श्रेय हाम्रा विगतका आन्दोलनहरुलाई गए जस्तै जेन-जेडको आन्दोलनले समेत नया मानक स्थापित गर्न सकिन्थ्यो । तर दुर्भाग्य यो पुस्ताको आन्दोलनले अपूरणीय क्षति संगै परिवर्तनको आशा र आन्दोलनको भरोसाप्रति नौरास्यता र खिन्नता ब्युतियो ।
आन्दोलनले गुमाएको न्युनतम मानवीय मर्यादा:

आन्दोलनको दोस्रो दिनका भयानक दृश्यहरूले देशबासीको मात्रै नभई विश्वकै ध्यान आकर्षित भयो । बिहानै देखि नेताका घर लुटपाट गर्दै आगजनी गर्ने कार्यहरू गरियो । त्यही क्रममा एमालेका पुर्व मन्त्री एकनाथ ढकाललाई नाङ्गै बनाएर घिसारेको भिडियो सार्वजनिक भयो। केहि बेरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको श्रीमतीलाई घरभित्रै थुनेर आगो लगाई घाईते बनाएको घट्ना बाहिरियो । त्यस लगत्तै बुढानिलकण्ठमा रहेका पुर्व प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई एक हुल युवाहरूले निर्मम आक्रमण गर्दै रग्ताम्य हुने गरी कुटपिट गरी घाईते बनाएको भिडियो सार्वजनिक भयो । केहि सुरक्षाकर्मीहरूलाई खोलामा हेलेर माथिबाट ढुङ्गाले आक्रमण गरेर यातना दिएका घटना बाहिरिए जुन कुरा निकै गम्भीर आपत्तिजनक थियो । युद्धरत अवस्थामा समेत दुस्मन पक्षको सैनिकलाई नियन्त्रणमा लिदा मानवअधिकारको ख्याल गर्दै यातना दिन नहुने कुरामा ध्यान दिइन्छ भने हिजो गरिएका यी प्रतिनिधिमुलक घटनाहरूमा आन्दोलनरत पक्षले न्युनतम मानवीय मूल्य र मर्यादाको मसेत ख्याल नगरेको देखिन्थ्यो। जुन गम्भीर चिन्ताको विषय हो ।
आन्दोलनको वास्तविक दृश्य:
जेन-जेड पुस्ताले सरकार विरुद्धको आन्दोलन चर्काउनका लागि सामाजिक सञ्जाल प्लेटफर्मको भरतपुर प्रयोग गरेको देख्न सकिन्छ। सामाजिक सञ्जालमा देशैभरीबाट यो पुस्ताका युवाहरूले सरकार बिरूद्द आन्दोलन चर्काउने पक्षमा मत जाहेर गर्दै आह्वान गरेता पनि आन्दोलनको मोडालिटी के हुने ? आन्दोलनको नेतृत्व कसले गर्ने तथा आन्दोलनलाई अराजक र हिंस्रक हुन बाट कसरी जोगाउने भन्ने बारेमा प्रयाप्त तयारी नै नभएको देखियो। बरू यो पुस्ताको आन्दोलनलाई काठमाडौंका मेयर वालेनले सामाजिक सञ्जालबाटै गाईड गरे जस्तो देखिने शंकित गतिविधीहरू आन्दोलन अवधिभरी चलिरहे र अहिले पनि निरन्तर जारी छन । यो आन्दोलनलाई जेन-जेड पुस्ताको भनिए पनि यसमा शान्ती प्रकृयापछि आफूलाई असली माओवादी दावी गर्नेहरू,विभिन्न समयमा विश्वविद्यालयहरूमा विद्यार्थी संघ संगठनको नाममा अराजकता र गुण्डागर्दीमा संलग्न भएकाहरू, गत वर्षको चैत महिनामा राजावादी र दुर्गा प्रसाई समुहले कोटेश्वरको कार्यक्रम पश्चात लुटपाट र आगजनीमा खटिएकाहरू, विभिन्न पार्टी फेर्दै आफूलाई कट्टर रास्वपा देखाउनेहरू र स्वघोषित अभियान्ताहरूको बृहत सहभागिता देखियो ।
जो विगत देखि नै अराजकता, अपराध र हिंसामा माहिर भैसकेका थिए। आगो लगाउने,लुटपाट गर्ने र तोडफोड गर्ने कार्यमा पुर्णत: अभ्यस्त भैसकेका थिए । जसले आफूलाई चिनिने भयका कारण टाउकोमा बाईकको हेल्मेट र अनुहारमा मास्क लगाएर सकेसम्म आफ्नो असली रूप लुकाउने प्रयत्न गरेका थिए । तर भीडमा उनिहरूका निर्लज्ज अनुहार तोडफोड र आगलागीका लागि निस्फिक्रि मुस्कुराई रहेका देखिन्थे । तर दुर्भाग्य आन्दोलन घोषणा गर्ने र परिवर्तनको पक्षघर मानिएको जेन-जेड सार्वजनिक रूपमा कहिकतै देखिएका थिएनन । जो अहिले सम्म पनि आधिकारिक रूपमा देखिएका छैनन भन्ने नै छ। अहिले धेरैले आफूलाई आधिकारिक दावी गरेपनि सबैका अनुहार देशका सार्वजनिक संरचनामा आगो झोस्दै अवसरको खोजीमा लम्किरहेका स्वार्थ समुहका झुण्ड भन्दा कम देखिएका छैनन् ।
आन्दोलनले सिजृत परिस्थिति:
प्रधानमन्त्रीले राजीनामा दिएको चौबिस घण्टा बितिसक्यो ।देशको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको अवस्था छ । आवश्यक वार्ताको लागि जेन-जेड भनिएको पुस्ताको आधिकारिक नेतृत्व पहिचान हुन सकेको छैन । धेरैले आफुलाई आधिकारिक दावी गरिरहेको स्थिती छ । देशको प्रमुख प्रशासनिक निकाय,संसद भवन,राष्ट्रपति ,प्रधानमन्त्री कार्यालय र प्रमुख न्यायालय सर्वोच्च अदालत आगलागीका कारण पुर्ण रूपमा जलेको स्थिती छ । देशैभरीका कारागारहरूबाट बन्दी तथा केदीहरू भागीरहेको र पुन अपराधिक घट्ना घटाईरहेका खबरहरू क्रमश बाहिरिएका छन। शान्ती सुरक्षार्थ खटिने प्रहरी र तिनको संरचना माथी आक्रमण गरेर क्षति पुर्याएको छ । यि घट्नाक्रमले देशमा गम्भीर संकटहरूको संकेतका साथै अन्योलता सिर्जना गरेको छ । यो क्षतिबाट देशलाई माथि उठाउन निकै लामो समय र ठूलो सामर्थ्यको खाँचो देखिन्छ। देश तत्कालै यो परिस्थितिबाट माथी उठ्ने सकारात्मक आशाका संकेतहरू न्युन देखिन्छन ।तर देश उठ्नुपर्छ। देश बन्नुपर्छ र यि संगिन मोडहरूबाट देश परिवर्तन र अग्रगमनको नया मार्गमा लम्किनु पर्छ ।
अक्षम्य अपराधः
सरकार तथा शासकप्रति जनताका व्यापक असन्तुष्टिहरू हुन्छन । सरकारको कार्यशैली र गतिविधीमा बिभिन्न तरिकाले दवाव दिन सकिन्छ। आन्दोलन भन्ने बितिक्कै आगो लगाउने, तोडफोड गर्ने, लुटपाट गर्ने शैलीमा परिवर्तन गरेर पनि शासकलाई घुडा टेकाउन सकिन्छ। जेन-जेड पुस्ताको आन्दोलनमा भोक हड्ताल र अनसनको माध्यमबाट मेडिकल शिक्षाको क्षेत्रका थुप्रै बिकृतीहरूलाई सुधार गर्दै एक्लैले परिवर्तन गराउन र दर्जनौ पटक सरकारलाई आफ्नो आवाज सुन्न बाध्य पार्ने गोविन्द केसीको शैलीलाई पनि अपनाउन सकिन्थ्यो । विभिन्न सामाजिक प्लेटफर्महरूको माध्यमबाट समेत सरकार माथि दवाव दिन सकिन्थ्यो । तर दुर्भाग्य जेन-जेड पुस्ताको आन्दोलनमा कसैको विवेकले त्यो बाटो अपनाएन । बरू आनदोनका नाममा अराजक समुह र अपराधिक मानसिकता समुहहरूले यो मौकाको भरपूर उपयोग गर्दै देशलाई उठ्नै नसक्ने गरी मर्माहत तरिकाले आगो झोसेर रमाए । हाम्रो पुर्खाले दुख गरेर ठड्याएका प्रशासनिक संरचनाहरू ध्वस्त पारे । अन्तिम न्यायको धरोहर सर्वोच्च माथी समेत आगो दन्काएर सखाप बनाए । यी सम्पूर्ण अपराधिक गतिविधीहरूमा संलग्न भिजिलान्ते भेषधारीहरू कुनै परिवर्तन र सुधारको पक्षमा उभिएका परिवर्तनकारी युवा नभई देशका कपुत तथा कलंक हुन ।
यिनको अपराध कर्मलाई इतिहासले कुनै पनि क्षणमा क्षमा गर्न सक्दैन । बरू यो देशको शासन व्यवस्था र सुरक्षा संयन्त्र सुदृढ भएमा यि आतंककारी देशद्रोहीहरूलाई कुशलतापुर्वक नियन्त्रणमा लिई दण्ड सजाय भोग्न लगाउने छ ।
देश जलाएर परिवर्तन ल्याउँछौ भन्नेहरूलाई कस्ले पत्याईदिन्छ । देशको परिवर्तनका लागि हामी होमियौ भन्दा कसले विश्वास गर्छ । देश आगोमा जलाएर बन्ने होईन । देश बनाउन त दृढ संकल्प र त्याग चाहिन्छ। देश बन्नका लागि समय चाहिन्छ।
पुर्खाले बनाएको देशलाई सरकार बिरूद्द असन्तुष्टी रह्यो भन्दैमा आगो झोसेर रमाउनेहरू देश बनेको भन्दा नबनेको देख्न चाहनेहरूको भिड मात्रै हो । जेन-जेडको नाममा गरिएको अराजकता एक अक्षम्य अपराध हो ।
लेखकः- महेश सिंह धामी




















