
सरकारको निर्णयअनुसार असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिइने भएको छ। ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने र नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाले ज्यान गुमाएका थिए। आन्दोलन नियन्त्रण बाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २४ गते राजीनामा दिएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरिसकेको छ।
































